काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले लुटतन्त्रको संरक्षण गर्न सरकार र नेकपा (माओवादी केन्द्र)बीच मिलेमतो भएको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले भिजिट भिसा प्रकरणमा नेकपा एमाले र माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमति नाटक मात्रै भएको टिप्पणी गरे।
“अहिले संसदमा १८ दिनदेखि हामीले देखिरहेको तमासा, देशले देखिरहेको तमासा, वास्तवमा नाटकबाहेक केही होइन,” उनले भने, “प्रमुख प्रतिपक्ष दलका नेताले वीरताको आवरणमा आत्मसमर्पण गर्नुभएको दृश्य देख्यौं। यो त्यही थिएन र ? जनताले बुझिसके — यो गणतन्त्रको रक्षाको लागि होइन, लुटतन्त्रको रक्षाका लागि भएको सहमति हो।”
अध्यक्ष लिङ्देनले माओवादी केन्द्रले सरकारसँग मिलेर भ्रष्टाचार ढाकछोप गर्न खोजेको आरोप लगाए। साथै, उनले गृहमन्त्री रमेश लेखकमा नैतिकता छ भने तुरुन्त पदबाट राजीनामा दिनुपर्ने माग पनि दोहोर्याए।
“नैतिकताको कुनै मूल्य बाँकी छ भने गृहमन्त्री पदमा बसिरहनुको अर्थ छैन,” उनले स्पष्ट पारे, “जनतालाई थाहा छ– कसले के गर्दैछ, अब भ्रममा राख्न सकिँदैन।”
राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै रास्वपाको आन्दोलनमा साथ दिँदै आएको छ।
प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया