काठमाडौं । एडेन मारक्रमको उत्कृष्ट शतकको मदतले दक्षिण अफ्रिका अस्ट्रेलियाविरुद्ध वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलको ऐतिहासिक जित नजिक पुगेको छ ।
ठूला प्रतियोगितामा पीडादायी हारको शृंखला बेहोर्दै आएको दक्षिण अफ्रिकालाई जितका लागि ६९ रनको मात्र आवश्यकता छ ।
लर्डसमा शुक्रबार तेस्रो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिकाले दुई विकेट गुमाएर २ सय १३ रन बनाएको छ । जितका लागि २ सय ८२ रन पछ्याइरहेको दक्षिण अफ्रिकाका लागि ओपनर मारक्रम १ सय २ रन बनाएर खेलिरहेका छन् ।
कप्तान टेम्बा बभुमा ६५ रनमा नटआउट छन् । उनीहरूले १ सय ४३ रनको साझेदारी गरिसकेका छन् । दक्षिण अफ्रिकाले अन्तिम पटक कुनै उपाधि जितेको भनेको सन् १९९८ मा हो । दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियन बने त्यो उसको क्रिकेटका लागि अद्धितीय उपलब्धी हुनेछ ।
अस्ट्रेलिया आफ्नो दोस्रो इनिङ्समा २ सय ७ रन बनाएर अलआउट भएपछि दक्षिण अफ्रिकाले चुनौतीपूर्ण लक्ष्य पाएको हो । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाका लागि त्यसमा मिचेल स्टार्कले ५८ रन बनाए र नटआउट रहे । त्यस अगाडि पहिलो इनिङ्समा अस्ट्रेलियाले २ सय १२ र दक्षिण अफ्रिकाले १ सय ३८ रन बनाएको थियो ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया