विराटनगर — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टीका नेता जनार्दन शर्मालाई पार्टी परित्याग गर्न कहिल्यै नभनेको दाबी गरेका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सञ्चारमाध्यमहरूमा आएका कतिपय विवरणहरू वास्तविकताभन्दा टाढा रहेको जिकिर गरे।
“जनार्दन शर्मालाई पार्टी छाड भनेको छैन, त्यो कुरा मैले बोलेकै छैन। तर सञ्चारमाध्यममा त्यसरी लेखियो,” प्रचण्डले भने।
उनले संसदमा भइरहेको अवरोध हटाउनुको कारणसमेत स्पष्ट पारे। उनका अनुसार शिक्षा विधेयक, निजामती सेवा विधेयकलगायतका आवश्यक कानुन निर्माणमा संसद् अवरोधले बाधा पुर्याइरहेकाले अवरोध हटाइएको हो। “कतिपय विधेयकहरू पारित गर्नु अहिले अत्यावश्यक छ, त्यसैले संसद चल्न दिनु जरुरी भयो,” उनले उल्लेख गरे।
उनले सरकारसँग सहमतिका सन्दर्भमा पनि प्रष्ट पारे। सत्तासँग कुनै ‘बार्गेन’ नभएको र कांग्रेससँग सम्बन्ध सुधार गर्न कुनै गोप्य सम्झौता नगरिएको उनको दाबी थियो।
साथै, पूर्व सभामुख अग्नी सापकोटासँग भिजिट भिसाको विषयमा गरिएको आरोपमाथि प्रचण्डले कडा आपत्ति जनाउँदै भने, “अग्नी सापकोटासँग भिजिट भिसा साटेको भन्ने आरोप पूर्ण रूपमा झुटो र आधारहीन छ।”
प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया