विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणलाई केवल वर्तमान गृहमन्त्रीसँग मात्र जोडेर हेर्न नहुने बताएका छन्।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले यो मुद्दा गृहमन्त्री रमेश लेखकको कार्यकालमा मात्रै नभई अघिल्ला समयमा पनि चल्दै आएको पुरानै समस्या भएको स्पष्ट पारे।
उनले भने, “यो प्रकरण गम्भीर प्रकृतिको भएकाले छानबिन आवश्यक छ भन्ने हाम्रो अडान थियो। सरकार छानबिन गर्न सहमत भएपछि हामीले संसद खोल्न सहमति जनाएका हौं।”
प्रचण्डका अनुसार भिजिट भिसासम्बन्धी अनियमितता विगतदेखि चल्दै आएको मुद्दा हो र यसमा अहिलेका गृहमन्त्रीमात्र संलग्न छन् भन्ने गलत धारणा हो।
संसद् पुनः सञ्चालनको विषयमा भएको सहमतिलाई लिएर केही कार्यकर्ताले विरोध जनाएको विषयमा प्रचण्डले प्रतिक्रिया दिँदै भने, “कार्यकर्ताले राम्रोसँग नबुझेरै विरोध गरेका हुन्, जब बुझ्छन्, चुप लाग्छन्।”
उनले सहमति प्रक्रियामा कुनै प्रकारको साटफेर नभएको दाबी गर्दै भने, “यसअघि पनि यस्ता सहमति प्रकृयाहरू यसैगरी हुँदै आएका थिए। अहिले भइरहेको हल्ला आधारहीन छ।”
उनको भनाइमा सरकार र प्रमुख दलबीच संसद सञ्चालन र भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनको स्पष्ट सहमति भइसकेको छ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया