काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालले गृहमन्त्री रमेश लेखकमाथि तीव्र आलोचना गर्दै ‘भिजिट भिसा’ प्रकरणको जवाफ संसद होइन, अदालतमा दिन चुनौती दिएका छन्।
गृहमन्त्री लेखकले संसदमा आफू उक्त प्रकरणमा संलग्न नभएको दाबी गरेपछि नेपालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नेपालले लेखेका छन्, ‘म अपराधी होइन भनेर बयान दिने ठाउँ संसदको रोष्ट्रम होइन, अदालतको कठघरा हो। अदालतमा स्वागत नेपालहरूले प्रश्न गर्छन् जनताको तर्फबाट, हिम्मत छ जवाफ दिने? छ भने आउनु, नआए कुनै दिन ल्याउने छन् चौखुर्याएर। रवि लामिछानेलाई के भन्थ्यौ? बिर्सियौ?’
हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको नाममा नेपाली नागरिकहरूलाई गैरकानुनी रूपमा विदेश पठाउने कार्य भएको आरोप सार्वजनिक भएको छ। यो प्रकरणमा अध्यागमन विभागका केही अधिकारीहरूसहित भित्रभित्रै उच्च राजनीतिक संरक्षण रहेको आशंका बढ्दो छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही घटनाको सिलसिलामा विमानस्थलका अध्यागमन प्रमुखसहित पाँच जनामाथि अनुसन्धान अघि बढाइसकेको छ। उनीहरूमाथि आपसी मिलेमतोमा भिजिट भिसाको दुरुपयोगगरी मानव तस्करीमा संलग्न रहेको आरोप छ।
यसै सन्दर्भमा स्वागत नेपालले गृहमन्त्री स्वयंले यस्ता गम्भीर आरोपको सामना अदालतमा गर्नुपर्ने भन्दै संसद्को रोष्ट्रमलाई राजनीतिक क्लिनचिट दिन प्रयोग नगर्न चेतावनी दिएका छन्।
प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया