काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न क्रियाशील सबै सदस्यबाट प्रत्यक्ष रूपमा सभापति छान्ने प्रणाली लागू गर्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, “पार्टीभित्र गुटबन्दी अन्त्य गर्ने अचुक अस्त्र छ — त्यो हो प्रत्यक्ष निर्वाचन प्रणाली। सबै क्रियाशील सदस्यले सिधै सभापति चुन्ने हो भने गुटको जरैबाट अन्त्य हुन्छ।”
उनका अनुसार अहिले कांग्रेसमा आठ लाख ६६ हजार क्रियाशील सदस्य छन्। सदस्यता नवीकरण र नयाँ सदस्य थपिएपछि यो संख्या १२ लाखसम्म पुग्ने अनुमान गर्दै उनले भने, “यदि ती १२ लाख क्रियाशील सदस्यबाटै कांग्रेसको सभापति प्रत्यक्ष निर्वाचित गरियो भने, गुटबन्दी गर्नेहरू स्वतः पराजित हुन्छन्। त्यसपछि पार्टीमा गुट टिक्न सक्दैन।”
हालको प्रणालीप्रति असन्तुष्टि जनाउँदै थापाले भने, “अहिले के हुन्छ भने १२ लाखमध्ये केहीले प्रतिनिधि छान्छन्, ती प्रतिनिधिले फेरि अर्को तहको प्रतिनिधि छान्छन्, अन्ततः पाँच हजार जति प्रतिनिधिको महाधिवेशनबाट सभापति चयन हुन्छ। यसरी सीमित व्यक्तिको प्रभावमा सभापति चयन हुँदा गुटबन्दीको संस्कार मौलाएको छ।”
उनले प्रविधिको युगमा पार्टीका सम्पूर्ण क्रियाशील सदस्यलाई बुथमा गएर मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाउन सकिने धारणा राखे। “जब १२ लाख सदस्यले सिधा सभापति चुन्न पाउँछन्, तब त्यो निर्णय सबैको साझा हुनेछ, र त्यसपछि गुट बनाउनेहरूको ठाउँ रहँदैन,” उनले जोड दिए।
थापाले पार्टी भित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्न र गुटबन्दीलाई जरोबाट उखेल्न, नेतृत्व चयन प्रक्रियामा व्यापक सहभागीता आवश्यक रहेको विचार प्रस्तुत गरे।
प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया