काठमाडौँ । नक्कली भारतीय रुपैयाँ प्रकरणमा दोषी ठहर भई ६ वर्षको जेल सजाय भोगेर छुटेका युनुश अन्सारी पुनः पक्राउ परेपछि उच्च अदालत पाटन पुगेका छन्। उनले प्रहरीद्वारा गैरकानुनी रूपमा थुनिएको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन्।

२०७६ साल जेठ १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्सारीसहित ६ जनालाई प्रहरीले ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको थियो। सो प्रकरणमा अदालतले उनलाई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो।

advertisement

उनी सुरुमा सुन्धारास्थित केन्द्रीय कारागारमा राखिएका थिए। तर त्यहाँ कारागारभित्रै भारतीय शूटर मनमीत भटियाबाट हत्या प्रयास भएपछि उनलाई नख्खु कारागार सारिएको थियो।

यस वर्ष जेठ १० गते जेल सजाय पूरा गरी नख्खु कारागारबाट छुटेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो। सीआईबीले हाल अन्सारीविरुद्ध सम्पत्ति शुद्धिकरण (मनी लन्डरिङ) मुद्दामा अनुसन्धान गरिरहेको छ।

पुनः पक्राउ गरिएको घटनापछि अन्सारीले उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। उनले नेपाल प्रहरी प्रधान कार्यालय, सीआईबी, आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा, सम्पत्ति शुद्धिकरण शाखा, नख्खु कारागार कार्यालय र काठमाडौँ जिल्ला अदालतलाई विपक्षी बनाएर रिट दर्ता गरेका छन्।

उनको रिटमाथि आज (आइतबार) उच्च अदालत पाटनका न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा सुनुवाइ हुने तय भएको छ।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com