काठमाडौं । संसदमा जारी अवरोधको विषयमा सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डा. डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै संवाद गरेका छन्।
रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग संसद भवन बानेश्वरस्थित कार्यकक्षमा भएको छलफलमा सभामुख घिमिरेले संविधानअनुसार बजेटमाथिको छलफल सुरु गर्नैपर्ने बाध्यता रहेको भन्दै अवरोधको स्वरूप परिवर्तन गर्न आग्रह गरेका थिए। सभामुखले संसदलाई मर्यादित बनाउनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिएको उनका सचिवालयले जनाएको छ।
जवाफमा रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले संसद अवरुद्ध गर्ने निर्णय कायम रहने स्पष्ट पारे पनि संसदको मर्यादा कायम राख्न आफूहरू प्रतिवद्ध रहेको बताएका छन्। गत शुक्रबारको संसद बैठकमा अवरोधका क्रममा भएका अमर्यादित गतिविधिबारे प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए।
सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग टेलिफोन वार्ता गर्दै संसद अवरोध हटाउन आग्रह गरेका छन्। उनले संविधानको बाध्यता बुझेर सदन सञ्चालनमा सहयोग गर्न र आफ्ना विषय संसदमा उठाउने वैधानिक माध्यम प्रयोग गर्न सुझाव दिएका थिए।
शुक्रबार सत्ता पक्ष नेकपा एमाले, नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रबीच दुई बुँदे सहमति भएपछि संसद पुनः सञ्चालनमा आएको थियो। तर, राप्रपा र रास्वपाले अवरोध कायमै राखेका छन्।
अवरोधका बीच गृहमन्त्री रवि लामिछानेले भिटिज भिसा प्रकरणबारे उठेका प्रश्नहरूको जवाफ दिएका थिए। आज (आइतबार) पनि तोकिएको समय अनुसार बिहान ११ बजेका लागि निर्धारण गरिएको संसद बैठक अहिलेसम्म सुरु हुन सकेको छैन।
प्रकाशित मिति: १ असार २०८२, आइतबार













प्रतिक्रिया