काठमाडौँ । भिजिट भिसा दुरुपयोग प्रकरणसँग जोडिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तथा सहसचिव तीर्थराज भट्टराई आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल कार्यालयमा बयानका लागि उपस्थित भएका छन्।
गृह मन्त्रालयमा देखिएको विवाद र गृहमन्त्री रमेश लेखकको सचिवालय, गृह सचिव गोकर्णमणि दवाडी तथा प्रशासन महाशाखा प्रमुख छवि रिजालजस्ता उच्चपदस्थ व्यक्तिहरूको संलग्नताबारे प्रश्न उठिरहेका बेला भट्टराईलाई आयोगले पाँचौँपटक बयानका लागि बोलाएको हो।
यसअघि भट्टराईलाई गत जेठ ७ गते आयोगको टोलीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। त्यसको अघिल्लो दिन, जेठ ६ गते गृह मन्त्रालयले उनको सरुवा गरेको थियो। प्रारम्भिक चरणमा भट्टराईले सामान्य जानकारीमूलक बयान दिएका थिए। त्यसपश्चात जेठ ८ गते बिहान १० बजे उनी आफैँ आयोगको कार्यालयमा उपस्थित भई दोस्रोपटक बयान दिएका थिए। सो अवसरमा उनलाई उनीमाथि परेको उजुरीबारे जानकारी दिइएको थियो। उक्त दिन झन्डै १५ मिनेटको संक्षिप्त बयानपछि आयोगले डिभाइसको फरेन्सिक रिपोर्ट कुरिरहेको भन्दै थप बयान पछि लिएको थियो।
यस प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि संसद अवरुद्ध गर्दै आएका थिए। उनीहरूले गृहमन्त्री लेखकको राजीनामासमेत माग गर्दै आएका छन्। यद्यपि, शुक्रबार नेकपा (माओवादी केन्द्र) र सत्तारूढ पक्षबीच दुई बुँदे सहमति भएपछि प्रमुख प्रतिपक्षी दल माओवादीले संसदको अवरोध हटाएको छ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने अझै पनि संसदमा विरोध जारी राख्दैछ। रास्वपाले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीलाई ‘सङ्गठित अपराध’ ठहर गर्दै उक्त विषयमा संसदीय छानबिन समिति गठन गर्न अन्य सबै प्रतिपक्षी दलहरूलाई एकजुट हुन आह्वान गरेको छ।
प्रकाशित मिति: १ असार २०८२, आइतबार













प्रतिक्रिया