काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति कडा आलोचना गर्दै पाँच वटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा खेपिरहेका व्यक्तिलाई सभापतिमा राख्ने नैतिक आधार के हो ? भनी प्रश्न गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै घिमिरेले रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोधका बीचमा संसद सञ्चालन भएको उल्लेख गर्दै रास्वपाको व्यवहारमाथि प्रश्न उठाएका हुन्।
उनले भने, “रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राख्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ। तर उही पार्टीले पाँच वटा अदालतमा मुद्दा खेपिरहेका, सर्वोच्च अदालतले समेत थुनामा राख्न आदेश दिएको व्यक्तिलाई सभापतिको जिम्मेवारी दिँदा नैतिकताको मापदण्ड कहाँ गयो ?”
नेता घिमिरेले नैतिकताको कुरा गर्ने रास्वपाले पहिले आफूभित्रका कमजोरी सच्याउनुपर्ने धारणा व्यक्त गरे। उनले निष्पक्षता र नैतिकताको नाममा दोहोरो मापदण्ड अपनाउनु अनुचित भएको पनि स्पष्ट पारे।
प्रकाशित मिति: १ असार २०८२, आइतबार













प्रतिक्रिया