काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रसेवक कर्मचारीहरूले सहज, सरल र प्रभावकारी ढंगले सेवा प्रवाह गरी नागरिकको मन जित्न सके लोकतन्त्र सुदृढ बन्ने बताएका छन्।

लोक सेवा आयोगको हीरक जयन्ती (७५औँ वार्षिकोत्सव) का अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कर्मचारीतन्त्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे।

advertisement

उनले भने, “कर्मचारीतन्त्रले जबसम्म नागरिकका हकहितमा सहज पहुँच र सरल सेवा सुनिश्चित गर्न सक्दैन, तबसम्म लोकतन्त्रको जग दरिलो बन्न सक्दैन भन्ने यथार्थ सबैले मनन गर्नुपर्छ।”

राष्ट्रपतिले मुलुकको स्थायी सरकारका रूपमा रहेको कर्मचारी व्यवस्थाले आधुनिक प्रविधि, दक्ष जनशक्ति र सुशासनका मूल्यमान्यताहरूको प्रयोग गर्दै जनताको आकांक्षा सम्बोधन गर्नुपर्ने बताए।

उनले लोक सेवा आयोगको ७५ वर्षे यात्रामा “योग्यता, निष्पक्षता र स्वच्छता”लाई आधार मानेर सार्वजनिक सेवा भर्नाको संवैधानिक दायित्व निर्वाह गर्दै आएको कार्यको प्रशंसा गरे।

राष्ट्रपति पौडेलले आयोगले वर्तमान पुस्तालाई न्याय दिनुका साथै भविष्यका पुस्तामा आशा र विश्वास जगाउने निकायका रूपमा अझ चनाखो भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

“स्वप्रेरित, अनुशासित, नैतिकवान् र राष्ट्रप्रति निष्ठावान् कर्मचारी मात्र प्रभावकारी सेवा प्रवाह गर्न सक्षम हुन्छन्,” उनले भने, “त्यसैले आयोगले कर्मचारी छनोट गर्दा योग्यताको सबै पक्ष समेट्ने सक्षम परीक्षण प्रणाली अवलम्बन गर्नुपर्छ।”

राष्ट्रपतिले समावेशी पदपूर्तिको प्रणालीमार्फत महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका र पिछडिएका समुदायका उम्मेदवारहरूलाई सार्वजनिक सेवामा प्रतिनिधित्व गराउन आयोग सफल भएको उल्लेख गरे।

उनले भने, “यसले सबै वर्ग र समुदायको नीति निर्माण तहमा पहुँच पुर्‍याउँदै राष्ट्रिय एकता बलियो बनाउन योगदान पुर्‍याएको छ। संघीयताको भावनाअनुसार आयोगले समावेशी समूहतर्फको प्रक्रिया अझ परिष्कृत बनाउँदै निष्पक्षता र प्रभावकारितामा केन्द्रित रहनुपर्छ।”

राष्ट्रपतिले आयोगको अबधि लामो भए पनि आर्जन गरिएको भरोसा, प्रतिष्ठा र जनविश्वासलाई कायम राख्दै पारदर्शिता र निष्पक्षताका आधारमा कर्मचारी छनोट, बढुवा तथा परामर्श कार्यमा अझ सक्रिय भएर लाग्नुपर्नेमा पनि जोड दिए।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com