काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुख देवराज घिमिरेले आइतबारको बैठकपछि उक्त निर्णय गरेका हुन्।
आजको बैठकमा ‘संघीय निजामती सेवा गठन, सञ्चालन तथा सेवाका सर्तहरू सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’माथि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले प्रतिवेदन पेस गरे। त्यसैगरी, राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा आएको ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ पनि सदनमा टेबुल गरिएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि राजस्व तथा व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गरे।
बजेटको सैद्धान्तिक छलफलमा नेपाली कांग्रेसका तर्फबाट डा. प्रकाशशरण महत, नेकपा एमालेबाट भीम आचार्य, माओवादी केन्द्रबाट वर्षमान पुन र एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डेले भाग लिए।
बैठकमा भिजिट भिसा दुरुपयोग प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने तथा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कडा विरोध जनाए। विरोधका बीचमा पनि सभामुख घिमिरेले सदनको कारबाही अगाडि बढाएका थिए।
प्रकाशित मिति: १ असार २०८२, आइतबार













प्रतिक्रिया