रूकुम पूर्व । रूकुम पूर्वको भूमे–०९, लाखर गाउँमा पहिलो पटक फूल टिप्न पहाडमा गएर भूमे पर्व मनाइएको छ। तीनबहिनी लेकमा फूल टिप्न गएका नोगोवाङे र पैसरी समूहले तिनबहिनी चौरमा भूमे मनाएका हुन्।

बराह बजु थानमा पाती चढाएर लेक चढेका नोगोवाङेहरू बुकी फूल चढाउँदै फर्किएका थिए। फर्किंदा गुराँसको मौला काटेर ल्याई थलाको बीचमा गाडी मौलामा धजा, फूल, पाती र जल चढाउँछन्। त्यसपछि मौलालाई बीचमा पारेर थलाभरि नाच्छन्।

गाउँका बुढापाकाका अनुसार परापूर्वकालमा यो ठाउँमा भूमे पुज्दा नसुहाएको भन्दै छोडिएको थियो। त्यसको विकल्पमा अर्को लेक खरनेटामा भूमेको बेलामा मेला लगाउने परम्परा सुरु भएछ। जहाँ चुन्वाङका लाखर गाउँ, सिमचौर, गोठीवाङ, गैरीगाउँ तथा कोर्जा, कुचिवाङ, मैवाङ गाउँबाट पनि पैसरी नाच्न आउने चलन रहेछ।

तर, अहिले गाउँका अगुवा, बुढापाका र युवा मिलेर पुरानो भूमे परम्परा फर्काउन लागेका छन्। भूमे परम्परा फर्काउन चुन्वाङमा वडा सरकार र साविख पैसरी नाच समूहले अग्रणी भूमिका खेलेका छन्। यस वर्ष चुन्वाङको गैरीगाउँमा भूमे नाचेर पर्व मनाइएको हो।




प्रकाशित मिति: २ असार २०८२, सोमबार













प्रतिक्रिया