काठमाडौं । गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद् अवरुद्ध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफैं अहिले गम्भीर नैतिक प्रश्नको घेरामा परेको छ। भिजिट भिसा प्रकरणमा नैतिकताको कुरा उठाउँदै सडकदेखि संसदसम्म आन्दोलनरत रास्वपाले अब आफ्नै सभापति रवि लामिछानेको नैतिकताबारे उठेको प्रश्नमा आन्तरिक छलफल थालेको छ।
आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले लामिछानेमाथि तीव्र आलोचना गर्दै प्रश्न उठाए – “सहकारी ठगीमा संलग्न भएको अभियोग लागेका रवि लामिछाने कुन नैतिक बलमा पार्टी सभापति भएर बसेका छन्? अनि यस्तो नेतृत्व बोकेको पार्टीले अरूलाई नैतिकताको पाठ पढाउने अधिकार कसरी पाउँछ?”
यो प्रश्न सार्वजनिक रूपमै उठेपछि रास्वपाले पार्टीभित्र आन्तरिक बहस सुरु गरेको जनाएको छ। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भने, “सार्वजनिक रूपमा उठेका प्रश्नहरूको जवाफ कसरी दिने भन्ने विषयमा हामी छलफलमा छौँ। आइतबार पहिलो चरण छलफल भयो, आज (सोमबार) थप विस्तृत छलफल हुनेछ।”
सभापति लामिछानेमाथि विभिन्न सहकारी संस्थाबाट अवैध रूपमा रकम अपचलन गरेको अभियोग लागेको छ। त्यसै सन्दर्भमा उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानसमेत भइरहेको छ। यही अभियोगका कारण उनी हाल रुपन्देही जिल्ला कारागारमा थुनामा छन्।
संघीय संसद् सचिवालयलाई प्रहरीले लामिछानेविरुद्धको अनुसन्धानबारे जानकारी गराएपछि गत पुस ८ गते सभामुख देवराज घिमिरेले उनको सांसद पद स्वतः निलम्बनमा परेको घोषणा गरेका थिए।
रास्वपाले अरूको नैतिकता परीक्षण गर्नुभन्दा अघि आफ्नै नेतृत्वको नैतिकता के कस्तो छ भन्ने गम्भीर प्रश्न उठिरहेको अवस्थामा अबको रणनीति के हुनेछ भन्ने चासो बढ्दै गएको छ।
प्रकाशित मिति: २ असार २०८२, सोमबार













प्रतिक्रिया