हङकङ । एयर इन्डियाको दिल्लीका लागि प्रस्थान गरेको उडान एआई३१५ प्राविधिक समस्या देखिएपछि हङकङ फर्कन बाध्य भएको छ। बोइङ ७८७–८ ड्रीमलाइनर विमानमार्फत सञ्चालित उक्त उडानमा उडेका क्रममा सम्भावित प्राविधिक गडबडीको संकेत देखिएपछि पाइलटले सतर्कता अपनाउँदै विमान फिर्ता ल्याएका हुन्।

उक्त विमान हङकङबाट उडान भरेको केही समयपछि पाइलटले प्राविधिक समस्या हुनसक्ने आशंका गर्दै सुरक्षाका दृष्टिले विमानलाई पुनः हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका थिए। विमान सुरक्षित रूपमा अवतरण भएको र हाल विस्तृत प्राविधिक जाँच भइरहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।

advertisement

एयर इन्डियाले घटनाबारे औपचारिक विज्ञप्ति भने अहिलेसम्म सार्वजनिक गरेको छैन।

यो घटना केही दिनअघि मात्र अहमदाबादबाट लण्डन उडेको एयर इन्डियाको अर्को विमान एआई१७१ को भयावह दुर्घटनापछि भएको हो। त्यस उडानका क्रममा बोइङ ७८७–८ ड्रीमलाइनर विमान उडान भरेको केही क्षणमै दुर्घटनाग्रस्त भएको थियो।
उक्त दुर्घटनामा २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु भएको थियो भने जमिनमा रहेका थप ३८ जनाले पनि ज्यान गुमाएका थिए। यसरी दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७९ पुगेको छ।

दुई बोइङ ७८७ विमानमा छोटो समयमा देखिएका गम्भीर समस्या र दुर्घटनाले एयर इन्डियाको विमान सुरक्षामाथि गम्भीर प्रश्न उठाएका छन्।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com