काठमाडौं । सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरूले सोमबार राजधानी काठमाडौंमा प्रदर्शन गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिको अगुवाइमा न्युरोड क्षेत्रमा आयोजित प्रदर्शनमा व्यवसायीहरूले सरकारको नीति विरुद्ध नाराबाजी गर्दै आक्रोश पोखेका थिए। उनीहरूले सुनमा गरिएको दुई प्रतिशत विलासिता कर र हिरा–रत्नमा गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन माग गरेका छन्।
व्यवसायीहरूका अनुसार यी करहरूले सुनचाँदी व्यापारमा असहजता सिर्जना भएको छ। उनीहरूले उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरिएको उच्च करले बजार नै थला पर्ने चेतावनीसमेत दिएका छन्।
प्रदर्शनका क्रममा व्यवसायीहरूले “हाम्रा कुरा सुन्दे”, “चाहिए जति सुन दे”, “उपभोक्तामारा नियम चाहिँदैन”, “सरकार सुन दे, सुनचाँदीको कानून दे”, “उच्च कर हटाउ, व्यापार बचाउ” जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।
व्यवसायीहरूले सरकारसँग सुनचाँदी व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउन व्यवसायीमैत्री, उपभोक्तामुखी स्पष्ट नीति, नियमावली र निर्देशिका निर्माण गर्न आग्रह गरेका छन्। उनीहरूले सरकारको बेवास्ता जारी रहे थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।
प्रकाशित मिति: २ असार २०८२, सोमबार












प्रतिक्रिया