काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कोहलपुर, बाँकेमा कार्यरत दुई खरिदारसहित चार जनाविरुद्ध आइतबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेले एक सेवाग्राहीसँग जग्गाको मोठ भिडाउने काम सजिलो बनाइदिने भन्दै लेखापढी व्यवसायी (विचौलिया) मार्फत २० हजार रुपैयाँ घुस मागेको भन्ने सूचनाका आधारमा आयोगले अनुसन्धान थालेको थियो।
अनुसन्धानको क्रममा लेखापढी व्यवसायी शान्ति पुनले सेवाग्राहीबाट लिएको सो घुस रकम खरिदार पाण्डेलाई हस्तान्तरण गरेकी थिइन्। उक्त रकम पाण्डेले रेष्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएका थिए। आयोगको टोलीले उनीहरूलाई सो घुससहित रंगेहात पक्राउ गरेको थियो।
घटनामा अर्को खरिदार रतन बहादुर जि.सी.को संलग्नता पनि पुष्टि भएपछि आयोगले खरिदार पाण्डे र जि.सी.विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसार मुद्दा दायर गरेको हो। उनीहरूलाई कैद सजायसँगै बिगोअनुसार जरिवानाको माग गरिएको छ।
यस्तै, घुस लेनदेनमा सहजीकरण गरेको आरोपमा लेखापढी व्यवसायी शान्ति पुन र रेष्टुरेन्ट सञ्चालक घनश्याम तिवारीविरुद्ध पनि सोही ऐनको दफा ३(२) अनुसार मुद्दा दायर गरिएको छ। उनीहरूलाई पनि कैद र जरिवाना माग गर्दै विशेष अदालतमा आरोपपत्र पेस गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
प्रकाशित मिति: २ असार २०८२, सोमबार













प्रतिक्रिया