चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय आम जनसमुदायमा आफ्नो लोकप्रियता फेरि एकपटक तीव्र रूपमा बढेको दाबी गरेका छन्। चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पार्टीको जनआधार मजबुत हुँदै गएको भन्दै माओवादीप्रति जनताको आकर्षण पुनः बढेको बताए।
प्रचण्डले भने, “मैले ०६४ सालमा देखेको जनमाया अहिले फेरि फिल्डमा महसुस गर्दैछु। खासगरी तराई–मधेश क्षेत्रमा लाखौं जनतासँग प्रत्यक्ष भेटघाट हुँदा बालबालिका, युवा, वृद्धवृद्धा सबैको भरोसा माओवादी र प्रचण्डप्रति केन्द्रीत देखिन्छ।”
उनले माओवादीको पुनः उदय देखेपछि विभिन्न शक्तिहरू असहज महसुस गरिरहेको उल्लेख गरे। “दलाल, नोकरशाह, प्रतिक्रियावादी र अवसरवादीहरू बेचैन बनेका छन्,” उनले भने, “त्यसैले अहिले षड्यन्त्रको खेती गरिँदैछ, जसरी पनि बदनाम गराउने खेल चलिरहेको छ।”
प्रचण्डले आफ्नो नाम जोडेर विभिन्न पुराना मुद्दा झिकेर प्रचारबाजी भइरहेको आरोप लगाए। उनले स्पष्ट पारे, “शेरादरबार प्रकरण होस् वा गोरु बिक्रीको आधारहीन साइनो, यी सबै मेरो नाम जोडेर बदनाम गराउने कोसिस हो। १२ वर्षअघि पार्टी छाडिसकेका व्यक्तिलाई ल्याएर झुटा प्रचार गरिँदैछ।”
क्यान्टोनमेन्टसम्बन्धी आरोपबारे पनि उनले अस्वीकार गरे। “गिरिजाबाबुको पालामै त्यो विषय टुंगिएको हो,” उनले भने, “यदि क्यान्टोनमेन्टमा साँच्चै अनियमितता भएको भए अहिलेसम्म मुद्दा रहन्थ्यो, तर अहिले त्यो कुरालाई फेरि उचालेर मलाई राजनीतिक हिसाबले कमजोर बनाउने खेल भइरहेको छ।”
उनले हालै माओवादीलाई लक्षित गर्दै दुई वटा बुँदालाई केन्द्र बनाएर सरकारभित्रैबाट षड्यन्त्र भइरहेको गुनासो पनि गरे। “क्यान्टोनमेन्टको कुरा नसकिने देखिएपछि अहिले सरकारमै बसेका केही तत्वहरूले नयाँ एजेण्डा ल्याएर माओवादीलाई बदनाम गर्ने प्रयास गरिरहेका छन्,” उनले आरोप लगाए।
प्रचण्डले आफू र माओवादी केन्द्रलाई जनताले पुनः विश्वास गर्न थालेको बताउँदै त्यसले केही शक्तिहरूलाई असजिलो बनाएको र त्यसैले बदनाम गर्ने अभियान चलाइएको टिप्पणी गरेका छन्।
प्रकाशित मिति: ३ असार २०८२, मंगलबार













प्रतिक्रिया