काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसाका नाममा भइरहेको कार्यलाई मानव बेचबिखनसँग जोडिएको गम्भीर र जघन्य अपराधको संज्ञा दिएका छन्। मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले यस प्रकरणमा संलग्न जो-कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याए।
उनले भने, “यो देशमा सरकारले रोजगारी दिन सक्दैन, अनि रोजगारी खोज्न विदेश जान खोज्ने नेपाली युवालाई दलालहरूमार्फत बेचिन्छ। योभन्दा ठूलो अपराध के हुन सक्छ ?”
शाहीका अनुसार यो अपराधको जरा गहिरो छ र यसको सुरुआत नै २०६४ सालदेखि भएको हो। त्यसैले उनले तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला देखि हालका गृहमन्त्री रमेश लेखकसम्म सबै जिम्मेवार व्यक्तिलाई निष्पक्ष छानबिनको दायरामा ल्याउनुपर्ने माग राखे।
राप्रपाले भिजिट भिसा प्रकरणलाई लिएर संसदमा निरन्तर विरोध जनाउँदै आएको उल्लेख गर्दै शाहीले सभामुखद्वारा आज संवादका लागि बोलाइनु सकारात्मक संकेत भएको बताए। तर, जबसम्म दोषीमाथि ठोस कारबाही प्रक्रिया अघि बढ्दैन, तबसम्म राप्रपाले सदन र सडक दुबै स्थानबाट संघर्ष जारी राख्ने स्पष्ट चेतावनी पनि दिए।
उनले भने, ‘यो विषयमा कुनै ‘गिभ एन्ड टेक’ हुँदैन। जोसुकै होस्, भोलि राप्रपाकै नेता जोडिए पनि कारबाही हुनुपर्छ।’
शाहीको यस्तो धारणा भिजिट भिसाका नाममा भइरहेको आपराधिक क्रियाकलापप्रति देशभर बढ्दो चिन्ता र आक्रोशसँग मेल खान्छ। राप्रपाले यस विषयमा चुप लागेर नबस्ने अडान लिएको छ।
प्रकाशित मिति: ३ असार २०८२, मंगलबार













प्रतिक्रिया