काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौं जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई तीनकुने घटनासम्बन्धी अभियोगमा थुनछेक बहसपछि तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो। उनी मंगलबार अदालतमा बयानका लागि उपस्थित भएका थिए।

advertisement

धरौटीमा रिहा भएसँगै मिश्रले पत्रकारहरूसँग प्रतिक्रिया दिंदै भने, “राज्यले मलाई अन्यायपूर्ण ढंगले दोषी करार गर्न खोज्यो, तर अन्ततः अदालतबाट न्याय पाएको छु।” उनले आफूमाथि लगाइएका आरोपहरू दुर्भाग्यपूर्ण र बेबुनियादी भएको टिप्पणी गरे।

मिश्रमाथि मुलुकी फौजदारी संहिताअन्तर्गत राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको छ।

यसअघि, यही प्रकरणमा राप्रपाका महामन्त्री शवलशमशेर राणा पनि सोमबार तीन लाख धरौटीमा रिहा भएका थिए। तीनकुनेमा भएको उक्त घटनामा संलग्न मानिएका दुर्गा प्रसाईं भने पुर्पक्षका लागि थुनामा पठाइएका छन्।

चैत १५ गते राजधानीको तीनकुनेमा राजसंस्थाप्रति समर्थन जनाउँदै भएको प्रदर्शन हिंसात्मक बन्दा प्रहरीले बल प्रयोग गरेको थियो। सोही घटनामा मिश्र, राणा र प्रसाईंसहित अन्य व्यक्तिहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको हो।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com