स्याङ्जा । स्याङ्जा जिल्लाको आँधिखोलामा भइरहेको अवैध नदी दोहनविरुद्ध आवाज उठाउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतामाथि आक्रमण भएको छ।

स्थानीय स्तरमा चरम रुपमा भइरहेको प्राकृतिक दोहन रोक्न र सम्भावित प्राकृतिक विपद्‌बाट जनताको सुरक्षा गर्न माग गर्दै सुरु गरिएको अभियानमाथि अवरोध सिर्जना गर्ने प्रयासस्वरूप रास्वपा नेताहरूमाथि आक्रमण गरिएको हो। वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरी आक्रमण गरेको आरोप लागेको छ।

advertisement

आक्रमणमा रास्वपाका केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपाल गम्भीर घाइते भएका छन्। दिनकर नेपालको दायाँ हात भाँचिएको छ भने लगाएको हेलमेटसमेत चुँडिएको छ। उनलाई थप परीक्षण तथा उपचारका लागि पोखरा अस्पताल लगिएको छ। मेघ आले पनि टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका छन्।

घटनापछि रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार एक विज्ञप्ति जारी गर्दै आक्रमणको कडा निन्दा गरेका छन्। दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै उनले भनेका छन्, “लुटतन्त्रविरुद्धको हाम्रो अभियान रोक्न यस्ता आपराधिक हमला नियोजित ढंगले गरिएका हुन्, तर हामी विचलित हुँदैनौं।”

विज्ञप्तिमा पार्टीले घाइते नेताहरूको उपचारका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता जनाउँदै सुशासन स्थापनाका लागि संघर्ष अझ सशक्त रूपमा अघि बढाइने उल्लेख गरिएको छ।

यस घटनासम्बन्धी थप विवरण आउँदैछ भने स्थानीय प्रहरी प्रशासनले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

 

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com