काठमाडौं । भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडेलाई पर्सा लगिने भएको छ।
जिल्ला अदालत पर्सामा दुवैजनाविरुद्ध सानो पाइला सहकारी ठगीको अभियोग दायर भएपछि अदालतले उनीहरूलाई कारागारबाटै झिकाउने तयारी गरेको हो।
जिल्ला अदालत पर्साका सूचना अधिकारी रामनरेश महतोले उनीहरूलाई चाँडै पर्सा अदालतमा झिकाएर बयान गराउने र थुनछेक आदेश गर्ने बताए।
‘फरारको हकमा म्याद जारी हुन्छ। यसअघि नै कारागारमा रहेकाहरूलाई सम्बन्धित कारागारसँग समन्वय गरेर झिकाइन्छ। अब केही दिनमै उनीहरूलाई झिकाएर अदालतले पत्र काट्ने उनले बताए ।
सानो पाइला सहकारी ठगीको दोस्रो चरणको अभियोगमा २९ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूले सानो पाइला सहकारीको कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रूपैयाँ हिनामिना गरेको अभियोग छ।
प्रतिवादीमध्ये २५ जना फरार छन्। उनीहरूको हकमा अदालतबाटै म्याद जारी गर्न सरकारी वकिल कार्यालयले अभियोग पत्रमा माग गरेको छ।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार












प्रतिक्रिया