काठमाडौं। स्कटल्याण्डमा जारी त्रिदेशीय टी २० आई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको संघर्षपूर्ण जित निकालेको छ ।

जितका लागि पाएको ९८ रनको लक्ष्य नेपालले १९।५ बलमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए ।

advertisement

दिपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन बनाए । अन्यबाट दोहोरो अंकमा रन बन्न सकेन । लोकेश बमले ९, रोहित पौडेलले ७ तथा अनिल साह, रुपेश सिंह र करण केसीले समान ३ रन बनाए ।

नेपाल ३८(३ को अवस्थामा हुँदा कुशल र दिपेन्द्रले २२ रनको साझेदारी गरे । त्यसपछि नेपालले ६० रनमा चौथो, ७५ रनमा पाँचौं, ७७ रनमा छैटौं, ८७ रनमा सातौं र ९७ रनमा आठौं विकेट गुमाएको थियो ।

२ बलमा १ रन आवश्यक हुँदा करण केसीलाई साथ दिन क्रिजमा आएका सन्दीप लामिछानेले हल्का ब्याटले खेलेर १ रन पूरा गरेसँगै नेपाल विजयी भयो । स्कटल्याण्डले स्ट्राइकर्स एन्डमा रनआउटको प्रयास गरेपनि करणले रन पूरा गरिसकेका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १९।४ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाएको थियो । माइकल लिस्कले सर्वाधिक ४४ रन बनाए । म्याथ्यु क्रसले १५ तथा ब्रान्डन म्याकमुलेनले १० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ११ रन मात्र दिएर ४ विकेट लिए । करण केसी र दिपेन्द्रसिंह ऐरीले २(२ विकेट लिँदा ललित राजवंशीले १ विकेट लिए ।

स्कटल्याण्डले ५ ओभरभित्रै ५ विकेट गुमाइसकेको थियो । त्यसपछि क्रस र लिस्क मिलेर ३९ रनको साझेदारी गरेपनि क्रस आउट भएपछि लिस्कलाई क्रिजमा साथ नमिल्दा राम्रो स्कोर बनाउन सकेन ।

नेपाल यसअघि पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा गएर पराजित भएको थियो । नेपालले अब नेदरल्याण्ड्ससँग बिहीबार खेल्नेछ ।

 

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com