काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग आज (बुधबार) बिहान टेलिफोन संवाद गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूबीच करिब ३५ मिनेट लामो कुराकानी भएको हो। यस क्रममा प्रधानमन्त्री मोदीले आतंकवादको विषयमा कडा अडान राख्दै ‘अपरेसन सिन्दूर’को सन्दर्भ पनि उल्लेख गरे।
भारतका विदेश सचिव विक्रम मिश्रीका अनुसार जी-७ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानडामा रहेका बेला ट्रम्पसँगको यो संवाद भएको हो। ट्रम्प पनि उक्त सम्मेलनमा सहभागी हुन त्यहीँ पुगेका थिए, तर इरान–इजरायल तनाव चुलिँदा उनी सम्मेलन बीचमै छाडेर अमेरिका फर्किएका थिए। सम्मेलनकै क्रममा दुई नेताबीच प्रत्यक्ष भेट तय भए पनि ट्रम्पको आकस्मिक फर्किएपछि त्यो सम्भव हुन सकेन।
विदेश सचिव मिश्रीले जानकारी गराएअनुसार ट्रम्प र मोदीबीचको टेलिफोन संवाद निकै महत्वपूर्ण रह्यो, विशेषतः पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनिरको अमेरिकी भ्रमण र ट्रम्पसँगको भेटवार्ता तय भएको दिनमै यो संवाद हुनुले घटनालाई थप चासोको विषय बनाएको छ।
जनरल मुनिर अहिले अमेरिकाको भ्रमणमा छन् र आजै वाशिङ्टनस्थित ह्वाइट हाउसमा ट्रम्पसँग दिउँसो १ बजे भेट्ने कार्यक्रम रहेको छ। यद्यपि, उक्त भेट गोप्य ढंगले हुने बताइएको छ, जसमा पत्रकारहरूको उपस्थिति रहने छैन।
इरानसँगको सम्बन्धमा मुनिरको पछिल्लो सक्रियता पनि चर्चा गरिएको छ। उनीले मे महिनाको अन्त्यमा इरानी सशस्त्र बलका प्रमुख मोहम्मद हुसेन बघेरीसँग भेट गरेका थिए। तर बघेरी जुन १३ मा इजरायली हवाई आक्रमणमा मारिएपछि मुनिरको अमेरिका भ्रमण र ट्रम्पसँगको भेट थप संवेदनशील बनेको हो।
ट्रम्पसँगको संवादमा प्रधानमन्त्री मोदीले भारतको अडान स्पष्ट रूपमा राखेको विदेश सचिव मिश्रीले बताएका छन्। उनका अनुसार मोदीले ट्रम्पलाई स्पष्ट रूपमा भने, “भारतले कुनै पनि स्तरमा अमेरिका वा अन्य मुलुकमार्फत भारत–पाकिस्तान सम्बन्धमा मध्यस्थता स्वीकार गरेको छैन, गर्दैन र भविष्यमा पनि कहिल्यै स्वीकार गर्ने छैन।”
गत मे १० मा भारत–पाकिस्तान युद्धविरामपछि ट्रम्पले आफ्नै पहलमा यो सम्भव भएको दाबी गरे पनि भारतले त्यसलाई सधैं अस्वीकार गर्दै आएको छ। मोदीले ट्रम्पलाई सम्झाउँदै भने, “युद्धविरामको सहमति भारत र पाकिस्तानका सेनाबीचको प्रत्यक्ष संवादबाट भएको थियो, त्यो पाकिस्तानको आग्रहमा गरिएको हो।”
मोदीले यो पनि उल्लेख गरे कि भारतको आतंकवादविरुद्धको लडाइँ अब ‘छद्म युद्ध’का रूपमा मात्र नभई, प्रत्यक्ष युद्धका रूपमा अघि बढिसकेको छ। उनले ‘अपरेसन सिन्दूर’को सन्दर्भ दिँदै आतंकवादविरुद्धको अभियान अझै जारी रहेको जनाए।
राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीको भनाइलाई ध्यानपूर्वक सुनेर भारतको आतंकवादविरुद्धको अडानको समर्थन गरेका थिए।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार













प्रतिक्रिया