काठमाडौं । इजरायल र इरानबीच चुलिंदो तनावका बीच इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षालाई मध्यनजर गर्दै, त्यहाँस्थित नेपाली दूतावासले उद्धार तथा स्वदेश फिर्तीको तयारीस्वरूप विवरण संकलन सुरु गरेको छ।
तेल अविभस्थित नेपाली दूतावासले सार्वजनिक सूचना जारी गर्दै इजरायलमा रहेका त्रासमा परेका वा समस्यामा परेका नेपालीहरूको सहजीकरणका लागि अनलाइन दर्ता प्रणाली सुरु गरिएको जानकारी दिएको छ।
दूतावासको सूचनामा भनिएको छ, “इजरायलमा हाल उत्पन्न परिस्थितिमा समस्यामा परेका वा त्रासमा रहेका नेपाली नागरिकहरूको उद्धार, स्वदेश फिर्ती तथा आवश्यक सहयोगका लागि आधार तयार पार्न यो विवरण संकलन कार्य सुरु गरिएको हो।” इच्छुक नेपालीहरूले अनलाइन फाराममार्फत आफ्नो विवरण दर्ता गराउन सक्ने दूतावासले जनाएको छ।
इजरायल–इरानबीचको द्वन्द्वले चर्किंदै जाँदा विभिन्न देशहरूले आफ्ना नागरिकको सुरक्षित उद्धार गर्न पहल गरिरहेका छन्। यसै सन्दर्भमा नेपाल सरकारले पनि अग्रसरता देखाउँदै दूतावासमार्फत पूर्वतयारी थालेको हो।
सरकारले नेपाली नागरिकलाई सुरक्षित रहन, आवश्यक जानकारी अद्यावधिक राख्न र दूतावाससँग सम्पर्कमा रहन आग्रह गरेको छ।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार













प्रतिक्रिया