काठमाडाैं । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ।

कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले उनको निधनमा शोक प्रस्ताव पारित गर्दै यही असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो।

advertisement

बैठकले असार ५ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्लामा शोक सभा आयोजना गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

नेता शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा यही असार २ गते निधन भएको हो।

बैठकमा नेता शास्त्रीको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको उनले बताए।

विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका स्व. शास्त्रीले प्रजातन्त्र पुनःस्थापनाको सङ्घर्ष र आन्दोलनका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताएका थिए।

स्व. शास्त्री जननायक बिपी कोइरालाका अनुयायी, समाजवादी चिन्तक र प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत थिए।

अर्घाखाँचीको किमडाँडामा वि.सं १९९३ जेठ २५ गते जन्मेका स्व शास्त्री पटक पटक पार्टीको केन्द्रीय सदस्य हुनुका साथै विसं २०४८ र विसं २०५१ को आमनिर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

नेता शास्त्रीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति कांग्रेसले उच्च सम्मान प्रकट गरेको छ।

उनको निधनबाट कांग्रेसले एक वौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको मुख्यसचिव पौडेलले उल्लेख गरे।

स्व शास्त्रीको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पार्टी कार्यालयले जनाएको छ।

-एन्जेन्सी

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com