काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउनु र मुलुकलाई समृद्धिको दिशामा लैजानु नै वर्तमान संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल उद्देश्य भएको स्पष्ट पारेका छन्।

पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र अग्रज नेताहरूको दीर्घ संघर्ष, त्याग र नेपाली जनताको बलिदानबाट सम्भव भएको उल्लेख गरे। उनले भने, “आज हामीले प्राप्त गरेको यो प्रणाली जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धि हासिल गर्ने लक्ष्यसहित अघि बढेको हो।”

advertisement

राष्ट्रपतिले लोकतन्त्र सुदृढ बनाउन सुशासन, जनमुखी सेवा प्रवाह र उपलब्ध स्रोतसाधनको उचित व्यवस्थापन अपरिहार्य रहेको धारणा व्यक्त गरे। “यी लक्ष्यहरू हासिल गर्न सक्यौं भने मात्र लोकतन्त्रको यात्रामा आफूलाई समर्पण गर्ने नेताहरूको बलिदानप्रति साँचो श्रद्धाञ्जली हुनेछ,” उनले भने।

कार्यक्रममा राष्ट्रपतिले नेपाल कम्युनिस्ट आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठको योगदानको चर्चा गर्दै उनले नेपाली समाजको आर्थिक संरचना, वर्गीय विश्लेषण, उत्पादन प्रणाली र अन्तरविरोधहरूको सूक्ष्म अध्ययन गरेका उल्लेख गरे। “पुष्पलाल विचारमा गम्भीर, दृष्टिकोणमा फरक र पहिचानमा विशिष्ट नेताका रूपमा स्थापित हुनुहुन्थ्यो,” राष्ट्रपति पौडेलले भने, “मार्क्सवादी सिद्धान्तबाट प्रभावित रहे पनि उहाँ लोकतान्त्रिक प्रक्रियामार्फत नै समस्याको समाधान खोज्नुपर्छ भन्ने विश्वासमा दृढ हुनुहुन्थ्यो।”

उनले पुष्पलालको लोकतान्त्रिक चिन्तन नेपाली कम्युनिस्टहरूलाई लोकतान्त्रिक प्रक्रियातर्फ मोड्ने वैचारिक आधार भएको उल्लेख गरे। “०४६ सालको परिवर्तनले उहाँको विचारको उपयुक्तता प्रमाणित गर्‍यो,” उनले भने, “त्यसपश्चात् मदन भण्डारीले यसैलाई बहुदलीय जनवादको रूप दिए भने, जनताको जनवाद र नौलो जनवाद जस्ता अवधारणाहरू क्रमशः लोप हुँदै गएका छन्।”

कार्यक्रममा राष्ट्रपति पौडेलले राजनीतिमा विशिष्ट योगदान पुर्‍याउने शान्त मानवी, इतिहासतर्फ डा. मेदिनीप्रसाद सेडाई र साहित्यतर्फ राममणि पोखरेललाई पुष्पलाल राष्ट्रिय पुरस्कारद्वारा सम्मानित गरे।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com