काठमाडौं । बाँके जिल्लामा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी रहेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।

advertisement

अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा एसपी युवराज खड्काले ठकुरीलाई पक्राउ गरिएको पुष्टि गरेका छन। ‘उहाँलाई पक्राउ गरेका छौं । बैंकको रकम हिनामिना गरेको प्रकरणमा अनुसन्धान भइरहेको  प्रवक्ता खड्काले जानकारी दिएका थिए ।

खड्काकाअनुसार केही दिनअघि मात्रै उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो । अहिले बाँके नै राखेर उनीमाथि अनुसन्धान भइरहेको छ । यसअघि यो बैंक घोटाला प्रकरणमा संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए ।

संस्थापक अध्यक्ष राजेन्द्रवीर रायले भारतको लखनउमा अपार्टमेन्ट भाडा लिएर बसेका उनलाई सीआईबीकै टोलीले पक्राउ गरेर नेपाल ल्याएको थियो । अहिलेसम्म यो बैंक घोटाला प्रकरणमा मुछिएका दुई जना पक्राउ परेका छन् । अन्यको संलग्नता देखिएकाले खोजी भइरहेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुलाई बाँके नै राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । सीआईबीबाट डीएसपी दान थापाको कमाण्डको एउटा टोली नेपालगञ्ज गएर अनुन्सन्धान गरिरहेको सीआईबीले बताए ।

पक्राउ परेकाहरुको विरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले बताएका थिए ।

कर्णाली विकास  बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको थियो । कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो । अपचलनमा संलग्न मुख्य व्यक्ति रायको कर्णाली विकास बैंकमा करिब ८० प्रतिशत संस्थापक सेयर छ । उनी बैंक स्थापनादेखि नै कार्यकारी अध्यक्ष तथा सीईओका रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए । प्रमुख सेयर होल्डरका रूपमा रायले नै बैंक चलाउँदै आएका थिए ।

बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो ।

कर्णाली विकास बैंकको अन्य बैंक खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निकालदा ठूलो रकम घोटाल भएको मिश्र समितिको प्रतिवेदनले उल्लेख गरेको छ । विभिन्न बैंकहरुको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई केही वर्षदेखि अपचलन लुकाएको समितिले उल्लेख गरेको छ ।

रायका साथै पूर्वसीईओ दिनेशकुमार रावत, पूर्ववित्त विभाग प्रमुख तथा हाल पक्राउ परेका महादेव भनिने वेदप्रकाश सिंह ठकुरी र वरिष्ठ वित्त विभाग प्रमुख तथा सीईओ निरजविक्रम शाहले समेत अपचलन गरेको हुनसक्ने आशंका मिश्र नेतृत्वको समितिले उल्लेख गरेको थियो ।

रायलाई मानबहादुर चौधरी र पवनसिंह थारुले सहयोग गरेको हुनसक्ने बताइएको छ । छानबिन समितिका संयोजक मिश्रले सीईओ निरजविक्रम शाहलाई सोधपुछ गर्दा ठूलो रकम रायले घोटाला गरेको बताइएको उल्लेख छ ।

खातामा ब्यालेन्स नभएकै अवस्थामा पनि चेक क्लियरिङमार्फत रकमान्तर–चेक भुक्तानी गरेर घोटाला गरेको पाइएको छ । यसका साथै सोझै भल्टरटेलरबाट नगदै पैसा झिकेर पनि अपचलन गरेको बताइन्छ ।

राष्ट्र बैंकमा रहेको कर्णाली विकास बैंकको खाता (सीआरआर) मा ७ पुस २०८१ सम्म २२ करोड ७४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ मौज्दात रहेको सीबीएसमा प्रविष्ट गरिएको थियो । तर छानबिन समितिको अनुसन्धानका क्रममा उक्त खातामा करिब शून्य मौज्दात रहेको भेटिएको थियो ।

राय सहितका व्यक्तिले अन्य बैंकमा रहेको नक्कली ‘ब्यालेन्स सर्टिफिकेट’ बनाएर रकम अपचलन ढाकछोप गरेको पनि छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

बैंक विवरणको कागजपत्रमा फोटोसप गरेर आफूले चाहे बमोजिमको विवरण थप गरी कीर्ते विवरण बनाई त्यसको फोटोकपी गरेर राष्ट्र बैंकको अनुगमन टोलीलाई पेस गर्ने गरेको पनि छानबिन प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com