काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको प्रभावकारी सञ्चालनका लागि सबै प्रतिपक्षी दललाई विश्वासमा लिनुपर्ने आवश्यकतामा जोड दिएका छन्।
बुधवार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्तव्य सार्वजनिक गर्दै नेता श्रेष्ठले हाल प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहेका सन्दर्भमा सरकार र सभामुखले बलपूर्वक सदन सञ्चालन गर्न खोजे पनि त्यो प्रभावकारी हुन नसकेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित केही विपक्षी सांसदहरूको अवरोधका बीचमा सरकार र सभामुखबाट बलपूर्वक प्रतिनिधिसभा चलाउने प्रयास भइरहे पनि अहिलेसम्म सदन सुचारु हुन सकेको छैन। यस्तो परिस्थितिमा सबै प्रतिपक्षी दललाई विश्वासमा लिई सहमतिका साथ सदन अघि बढाउनु अहिलेको आवश्यकता हो।”
श्रेष्ठले संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐनलाई यथाशीघ्र प्रतिनिधिसभाबाट पारित गर्नुपर्ने आवश्यकता पनि औँल्याउँदै त्यसका लागि सदन सञ्चालन अविलम्ब सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन्।
“सदन सञ्चालनमार्फत यी महत्वपूर्ण विधेयकहरूलाई छिटोभन्दा छिटो अघि बढाउन म सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,” उनले स्पष्ट पारेका छन्।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार













प्रतिक्रिया