काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार जानकारी दिँदै उक्त विधेयक राष्ट्रपतिको प्रमाणीकरणपछि अब विधिसम्मत रूपमा कार्यान्वयनमा आउने बताएकी छन्। उक्त विधेयक संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो।
स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अनुसन्धान तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सरकारले यो विधेयक अघि बढाएको हो। शिक्षामन्त्री सुदन किरातीका अनुसार, स्वदेशमै स्वास्थ्यसम्बन्धी जनशक्ति उत्पादन गर्दै देशभर स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न विश्वविद्यालय स्थापनाको पहल गरिएको हो।
विधेयकले नेपाल सरकारलाई चिकित्सा शिक्षा सम्बन्धी विश्वविद्यालय स्थापना र सञ्चालन गर्न कानुनी आधार प्रदान गरेको छ। सरकारले कैलाली जिल्लाको गेटामा रहेको गेटा मेडिकल कलेजको पूर्वाधारमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारी गरिरहेको छ।
यो विश्वविद्यालयले आगामी दिनमा चिकित्सा शिक्षाको क्षेत्रलाई सुदृढ बनाउँदै पश्चिम नेपालमा स्वास्थ्य सेवा र शैक्षिक अवसर विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार













प्रतिक्रिया