काठमाडौं । भारतले पहलगाम आतङ्ककारी आक्रमणको मास्टरमाइण्डका रूपमा आरोप लगाउँदै आएको पाकिस्तानी सेनापति जनरल आसिम मुनिरलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिवाभोजका लागि आमन्त्रण गरेपछि अन्तर्राष्ट्रिय रूपमा यसको चर्को चासो देखिएको छ।

पाँचदिने अमेरिका भ्रमणमा रहेका जनरल मुनिरसँग राष्ट्रपति ट्रम्पले अमेरिकी समय अनुसार आज अपराह्न १ बजे ह्वाइट हाउसमा लञ्चवार्ता गर्दैछन्। पाकिस्तानी सेनापतिलाई अमेरिकी राष्ट्रपतिको यस्तो उच्च सत्कार विरलै पाइन्छ।

advertisement

बीबीसीका अनुसार ट्रम्प–मुनिर लञ्चवार्ताअघि अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब ३५ मिनेट फोन संवाद गरेका थिए। जी–७ सम्मेलनमा दुई नेताबीच प्रत्यक्ष भेट हुन नसकेपछि संवाद फोनमार्फत गरिएको हो।

पाकिस्तानी सेनापतिसँग अमेरिकी राष्ट्रपतिको यो तहको प्रत्यक्ष संवाद र आतिथ्यलाई भारतले विशेष ध्यान र संवेदनशीलताका साथ हेरिरहेको छ। गत महिना पाकिस्तान र भारतबीचको तनाव न्युनिकरणमा अमेरिकी भूमिका रहेको चर्चा चलेको थियो। युद्धविरामको प्रारम्भिक सूचना समेत ट्रम्प प्रशासनबाटै सार्वजनिक गरिएको थियो।

इरान–इजरायलबीचको हालको युद्ध परिवेश र पाकिस्तानको भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दा ट्रम्प–मुनिर वार्ता अझै गहिरो अर्थ राख्ने विश्लेषण भइरहेको छ। इरानसँग पाकिस्तानको भूसीमा सिमाना जोडिएको हुँदा अमेरिकी रणनीतिमा पाकिस्तानको भूमिका विशेष हुने विश्वास गरिएको छ। यसैबीच पाक–इरान सेनापतिहरूबीच हालै संवाद पनि भएको थियो।

दक्षिण एशियाका भूराजनीतिक विषयविज्ञ माइकल कुगलम्यानका अनुसार ट्रम्प र मुनिरबीचको यो वार्ता ऐतिहासिक मात्र नभई आर्थिक र रणनीतिक हिसाबले पनि निकै अर्थपूर्ण हुनेछ। उनले यसलाई खनिज स्रोत, क्रिप्टोकरेन्सी कारोबार तथा कश्मीर मुद्दासँग समेत जोडिएको बताए। पाकिस्तान, अमेरिकामार्फत कश्मीरलाई अन्तर्राष्ट्रिय एजेन्डा बनाउन खोजिरहेको कुगलम्यानको दाबी छ।

यसबाहेक, यदि अमेरिका इरानविरुद्ध सैन्य कारवाहीमा उत्रने अवस्था आयो भने पाकिस्तानको भूमिकाबारे अमेरिकी प्रशासनको चासो झनै बढेको देखिन्छ। कुगलम्यानका अनुसार, ह्वाइट हाउसमा पाकिस्तानी सेनापतिको स्वागत आफैँमा असामान्य र निकै रणनीतिक संकेत बोकेको घटना हो।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com