काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित नगरप्रहरी प्रमुख राजु पाण्डेको रिट निवेदनमा उच्च अदालत पाटनमा बुधबार दुवै पक्षको बहस सकिएको छ । महानगर स्रोतका अनुसार बहस सकिएसँगै आजै आदेश आउने सम्भावना रहेको छ ।
नगरप्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन निर्णयविरुद्ध पाण्डेले जेठ २६ गते उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका थिए । उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश प्रकाश खरेलको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । साथै अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिइएको थियो ।
घटनाको पृष्ठभूमिमा, बिदा सकेर कार्यालय फर्किएका पाण्डेले कार्यालय प्रवेश गर्न खोज्दा कार्यकक्षमा तालाबन्दी गरिएको थियो । उनले प्रयोग गर्ने सवारीसाधनमा ह्विललक लगाएर रोकिएको थियो । पाण्डेले वडा अध्यक्षको सहयोगमा कार्यालय प्रवेश गर्न खोज्दा समेत ‘माथिको आदेश’ भन्दै अवरोध गरिएको थियो । स्थिति तनावपूर्ण बन्दै जाँदा हातपातको अवस्था आउन पुगेपछि गुरागाईंले पाण्डेलाई जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए ।
निलम्बनपछि एक साताभित्रै पाण्डेले अदालतमा रिट दायर गर्दै आफूलाई गरिएको निलम्बन बदर गरिदिन माग गरेका थिए । उनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको आदेश गैरकानुनी भन्दै उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरेका हुन् ।
अब अदालतको आदेशले यस प्रकरणमा कानुनी मोड दिन सक्ने देखिएको छ ।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार













प्रतिक्रिया