काठमाडौँ । इजरायल र इरानबीच चुलिंदो तनावका बीच इरानको राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको छ। बीबीसी फारसी सेवा अनुसार, इरानी सञ्चारमाध्यमहरूले राजधानीमा श्रृंखलाबद्ध विस्फोटको खबर दिइरहेका छन्।
इजरायली सेनाले भने आफ्नो वायु सेनाले तेहरानस्थित सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण सञ्चालन गरिरहेको पुष्टि गरेको छ। इजरायलका अनुसार, ती आक्रमणहरू इरानी सैन्य लक्ष्यहरूलाई केन्द्रित गरी गरिएको हो।
यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले भने इजरायलले तेहरानको उत्तरी तथा पूर्वी उपनगरहरूलाई लक्षित गर्दै दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाएको छ।
इरानी समाचार साइट तबानकले इजरायली आक्रमणबाट राजधानीको पूर्वी, पश्चिमी क्षेत्रसँगै कारज शहर पनि प्रभावित भएको जनाएको छ।
हालसम्म घटनाबाट भएको क्षति र जनधनको विवरण सार्वजनिक भएको छैन भने दुबै पक्षबीचको तनाव अझ चर्किने संकेत देखिएको छ।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार













प्रतिक्रिया