काठमाडौं । रौतहटमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजना गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर नगरपालिका–३ डमार पोखरीया गाउँकी ३५ वर्षीया गुलनाज खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपककुमार रायले बताए।
बुधबार दिउँसो साढे ३ बजेको आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा खातुन लाई विद्युतीय करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाँदा साँझ ५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतक खातुन गर्भवती रहेको प्रादेशिक अस्पताल गौरका मेसु डाक्टर मुरारी ठाकुरले बताएका छन्।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रकाशित मिति: ५ असार २०८२, बिहिबार













प्रतिक्रिया