काठमाडौं । अमेरिकाले नेपालमा एमसीसीका योजनालाई पुन: निरन्तरता दिने संकेत गरेको छ ।
एमसीए नेपालले एक वक्तव्य जारी गर्दै कम्प्याक्टअन्तर्गत गरिएका वा सुरु गर्न लागिएका गतिविधि (सम्भावित नयाँ प्रतिबद्धतासहित) संयुक्त राज्य अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले करदाताको पैसाको दुरुपयोग रोक्ने भन्दै ९० दिने समीक्षा अवधिका लागि एमसीसी रोक्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि नेपालमा सञ्चालित परियोजनाको भविष्य अन्योलमा परेको थियो । तर, पछि नेपालमा सञ्चालन भइरहेका योजनालाई भने निरन्तरता दिने निर्णय भएको थियो ।
एमसीए नेपालले बुधबार एक वक्तव्य जारी गर्दै समीक्षा अवधिमा पनि परियोजनाका गतिविधिहरूलाई निरन्तरता दिन पाइएको उल्लेख गरेको छ । वक्तव्यमा भनिएको छ, “एमसीसी र नेपालस्थित अमेरिकी दूतावास सरोकारवालासँग सहकार्य र संवाद गर्दै समीक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत छन् ।”
वक्तव्यमा थप भनिएको छ, “संयुक्त राज्य अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्ध र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि प्रवर्द्धन गर्ने प्रयासप्रति प्रतिबद्ध छ ।”
२०७४ भदौ २९ मा नेपाल र अमेरिकाबीच एमसीसी अनुदान सम्झौतामा हस्ताक्षर भएको थियो । तर, दलहरुबीच सहमति हुन नसक्दा २०७८ फागुन १५ गते संसद्ले ११ बुँदे व्याख्यात्मक घोषणासहित उक्त सम्झौता अनुमोदन गरेको थियो । नेपालमा एमसीसी कम्प्याक्ट ५०० मिलियन अमेरिकी डलरभन्दा बढीको विद्युत प्रसारण लाइन र सडक स्तरोन्नति परियोजनामा केन्द्रित छ ।
प्रकाशित मिति: ५ असार २०८२, बिहिबार












प्रतिक्रिया