काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग दोस्रोपटक भिड्दैछ। पहिलो खेलमा तीन सुपर ओभरसम्म पुगेर नेदरल्यान्ड्ससँग हार व्यहोरेको नेपाल आजको खेलमा बदला लिने दाउमा छ। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।
यस सिरिजमा नेदरल्यान्ड्सले तीन खेल खेल्दै दुई जित र चार अंकका साथ तालिकामा बलियो स्थिति बनाएको छ। उनीहरूले स्कटल्यान्डलाई ३९ रनले हराएपछि नेपाललाई तेस्रो सुपर ओभरमा पराजित गरेका थिए र पछिल्लो खेलमा स्कटल्यान्डलाई १७ रनले हराएका थिए।
अर्कोतर्फ, नेपालले दुई खेलमा एक जित र एक हारका साथ २ अंक जोडेको छ। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजय भोगे पनि दोस्रो खेलमा आयोजक स्कटल्यान्डलाई २ विकेटले हराएको थियो। समान २ अंक भए पनि रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो स्थानमा छ भने नेपाल तेस्रो स्थानमा छ। नेपाल र स्कटल्यान्डबीचको अन्तिम खेल शुक्रबार हुनेछ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा सोमपाल कामी, गुल्सन झा र नन्दन यादव जस्ता नियमित खेलाडीहरू घाइते भएका कारण लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह र बसिर अहमद जस्ता नयाँ खेलाडीहरूलाई अवसर दिइएको छ। यस सिरिजका दुई खेलमा आशिफ शेख, आरिफ शेख र भीम सार्कीलाई बेन्चमा राखिएको छ।
यो सिरिज लिग-२ को एकदिवसीय सिरिजपछि भएको हो, जहाँ नेपालले चार खेलमध्ये तीनमा जित हासिल गरेको थियो।
प्रकाशित मिति: ५ असार २०८२, बिहिबार













प्रतिक्रिया