काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नियमित काममा फर्किएका छन् ।
उच्च अदालत पाटनको आदेशपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे पुनः कार्यालयमा हाजिर भएका छन्। न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म पाण्डेलाई पूर्ववत जिम्मेवारीमै काम गर्न दिन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो।
यसअघि काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । सो निर्णयविरुद्ध पाण्डेले उच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले अन्तरिम आदेश जारी गर्दै उनलाई फेरि जिम्मेवारीमा फर्काउन निर्देशन दिएको हो।
पाण्डेले अदालतको आदेशअनुसार मंगलबार बिहान नगर प्रहरी प्रमुखको कार्यालयमा पुगेका हुन्। कार्यालय पुगेपछि उनले कानुनी प्रक्रियाप्रति सम्मान गर्दै आफूले पुनः जिम्मेवारी सम्हाल्ने जानकारी दिएका छन्। अब अदालतको अन्तिम फैसलासम्म उनी नगर प्रहरी प्रमुखकै हैसियतमा काम गर्ने छन्।
उच्च अदालत पाटनले बुधबार पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै उनी आज कार्यालय पुगेका हुन् ।
प्रकाशित मिति: ५ असार २०८२, बिहिबार













प्रतिक्रिया