ताप्लेजुङ । नेकपा (एकीकृत समाजवादी) का कोशी प्रदेश सदस्य तथा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले आफूलाई कुटपिट गरेको गम्भीर आरोप लगाएका छन्।
घटना मन्त्री हाङगामको गृहजिल्ला ताप्लेजुङमा भएको हो। ताप्लेजुङ क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यका रूपमा निर्वाचित मन्त्री हाङगाम जिल्ला भ्रमणका क्रममा थेबेसँगको भेटमा विवादमा उत्रिएका थिए। थेबेका अनुसार, मन्त्री हाङगाम मादक पदार्थ सेवन गरेको अवस्थामा आएका थिए र आफूलाई अघिल्लो राजनीतिक प्रतिस्पर्धाको प्रसंग उठाएर उक्साउने प्रयास गरे।
“उहाँले २०४४ सालमा तपाईंले मसँग प्रतिस्पर्धा गर्नुभएको थियो हैन? भनेर प्रश्न गर्नुभयो,” थेबेले भने, “मैले त्यसो नभनेको भनें, तर उहाँ एक्कासी आक्रोशित हुँदै मलाई दुई पटक मुक्का हान्नुभयो।”
घटनाको प्रत्यक्षदर्शीहरूका अनुसार घटनास्थलमा धकेलाधकेल भएको र मानिसहरूले छुट्याउने प्रयास गरेका थिए। एक प्रत्यक्षदर्शीले नाम नखुलाउने सर्तमा भने, “त्यहाँ धकेलाधकेल भएको स्पष्ट देखिन्थ्यो, छुट्याउने प्रयास भइरहेको थियो।”
थेबेले घटनापछि आफूमाथि मिल्न दबाब आइरहेको दाबी गरेका छन्। यद्यपि, उनले हालसम्म प्रहरीमा औपचारिक उजुरी नदिएको जनाएका छन्। ताप्लेजुङका प्रहरी प्रमुखलाई भने घटनाबारे जानकारी गराइसकेको उनको भनाइ छ।
यसअघि पनि मन्त्री हाङगाम विभिन्न विवादमा मुछिँदै आएका छन्। २०८० भदौ २१ गते ताप्लेजुङमा आयोजित मिनी महोत्सवको क्रममा उनले तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी राजन लिम्बुलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको थियो। त्यही विवादमा उनले प्रहरीको हतियार खोसेको भन्ने आरोप पनि सार्वजनिक भएको थियो।
सादा पोसाकमा खटिएका प्रहरीले मेला हेर्न आएका स्थानीयलाई जिस्क्याएको आरोपपछि सुरु भएको विवादले मन्त्री हाङगाम र डिएसपी लिम्बूबिच प्रतिष्ठाको टकरावको रूप लिएको थियो। स्थिति चर्किँदा हाङगामले डिएसपीको परिवारलाई समेत क्षति पुर्याउने धम्की दिएका थिए।
लगातार विवादमा मुछिँदै आएका मन्त्री हाङगामको पछिल्लो व्यवहारले राजनीतिक मर्यादा र आचरणप्रति गम्भीर प्रश्न उठाएको छ।
प्रकाशित मिति: ५ असार २०८२, बिहिबार













प्रतिक्रिया