काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकका विषयमा माओवादीले राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।
विहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले निजामती विधेयकलाई रोक्ने सरकारको कुनै योजना नरहेको भन्दै यस विषयमा माओवादीले राजनीति गर्न खोजेको आरोप लगाए ।
सरकारकै पहलका कारण उक्त विधेयक समितिबाट छिटो पारित भएर संसदमा आएकाले प्रतिपक्षीले अनावश्यक राजनीति गर्न जरुरी नरहेको उनको भनाइ छ ।
बर्तौलाले प्रधानमन्त्रीले समेत उक्त विधेयक छिटो पारित गर्ने वातावरण बनाउन निर्देशन दिइसकेको भन्दै कुनै शंका नगर्न आग्रह गरे । असार १५ गते अगाडि नै विभागीय मन्त्रीसँग छलफल गरेर उक्त विधेयकलाई सदनबाट अघि बढाइने उनको भनाइ छ ।
अहिले असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने अवस्था भएकाले नियमित विधेयकलाई रोकेर बजेटमाथिको छलफललाई तीव्रता दिइएको बताए ।
प्रकाशित मिति: ५ असार २०८२, बिहिबार













प्रतिक्रिया