काठमाडौं । भिजिट भिसाको नाममा नेपालीलाई विदेश पठाउने क्रममा सेटिङ र आर्थिक लेनदेनको आरोप लागेका सहसचिव तीर्थराज भट्टराई र गृह मन्त्रालयका अधिकृत गणेशदत्त ओझाबीच १० दिनमा ४८ पटक फोन सम्पर्क भएको खुलासा भएको छ।
अख्तियारले संकलन गरेको कल डिटेल अनुसार ओझाले २६ पटक र भट्टराईले २२ पटक फोन गरेका छन्। यो सम्पर्क सामान्यभन्दा धेरै देखिएपछि गृह मन्त्रालयका अन्य कर्मचारी पनि निगरानीमा परेका छन्।
भट्टराईले ट्राभल एजेन्सी ‘ग्रिन होलिडेज’का सञ्चालक बालकृष्ण खड्कासँग पनि १० दिनमै ३२ पटक सम्पर्क गरेका थिए। उनले अर्को व्यक्तिको नाममा सिम निकालेर त्यहीमार्फत सम्पर्क राख्ने गरेका थिए। रकम कविता पौडेलको खातामा जम्मा हुने र खगेन्द्र सुवेदीमार्फत परिचालन हुने गरेको खुल्न आएको छ।
स्रोतअनुसार, युएई र साउदी लगायतका मुलुकमा भिजिट भिसामा पठाउँदा प्रतिव्यक्ति ५०–७५ हजार र युरोप जाने व्यक्तिबाट ३–४ लाखसम्म असुलिएको थियो। बिचौलियाले अध्यागमन कर्मचारीलाई सूची पठाउने र त्यसअनुसार खटनपटन हुने गरेको खुलेको छ।
यसअघि पनि विभिन्न विवादमा मुछिएका भट्टराईमाथि अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: ५ असार २०८२, बिहिबार













प्रतिक्रिया