काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ लास्कोटस्थित रोशी खोलामा आएको बाढीमा फसेका पाँच जनाको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ। ढुंगागिट्टी निकाल्नका लागि टिपर र लोडरसहित राति करिब ९ बजे खोलामा पसेका उनीहरू एक्कासी बाढी आएपछि फसेका थिए।

पाँचखालस्थित सशस्त्र प्रहरीका गणपति प्रेम प्रसाईंका अनुसार, उनीहरूलाई राति १२ बजे नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो।

advertisement

तेमाल गाउँपालिका–५ गिम्दीका ४२ वर्षीय सन्जय लामा, सोही गाउँपालिकाका ३२ वर्षीय रेबन तामाङ, नमोबुद्ध नगरपालिका–५ डाँडागाउँका १९ वर्षीय मुस्कान तामाङ, ओखलढुंगा घर भई नमोबुद्ध नगरपालिका–५ डाँडागाउँ बस्ने २१ वर्षीय सागर राई र डोजर चालक दोलखाको भिमेश्वर नगरपालिका घर भई हाल डाँडागाउँ बस्ने २९ वर्षीय समिर तामाङको उद्धार गरिएको हो । उनीहरु सबैजना सकुशल रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले बुधबार नै सूचना जारी गरी बाढीको जोखिमका कारण खोलामा नजान आग्रह गरेको थियो। तर, उक्त सूचनाको बेवास्ता गर्दै ढुंगागिट्टी निकाल्ने उद्देश्यले राति खोलामा गएका उनीहरू फसेका थिए। उद्धार टोलीले अप्पर रिभर क्रसिङ्ग विधि र रोप रेस्क्यु विधि प्रयोग गरी उद्धार गरेको प्रसाईंले बताए ।

 

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com