काठमाडौं । मगर समूदायको महत्वपूर्ण पर्व भूमे सकिएसिँगै भेडिगोठहरु लेकतर्फ फर्किन थालेका छन् ।


पर्व मनाउनका लागि गोठ सारिएकोमा पुनः अब लेकतर्फ फर्काइएको हो । मगर समूदायको बाक्लो बसोबास रहेका रुकुमसहितका विभिन्न जिल्लामा भूमे पर्व विशेष रुपमा मनाउने गरिएको छ ।

हरेक वर्षको जेठ १५ गतेका दिन विधिपूर्वक लेकबाट बुकीको फूल टिपेर ल्याई बलपूजा सुरु हुने गर्छ । बलपूजासँगै सुरु हुने यो नाच जेठ १५ गतेदेखि असार १ गतेसम्म करिब नियमित नाचिन्छ । स्थानअनुसार जेठ मसान्त र असार १ गतेका दिन लेकमा गएर बास बस्ने र फूल तथा रुख लिएर गाउँमा आएर धुमधामसहित नाचगान गर्दै बलि चढाउने गरिन्छ ।
भूमे पर्वमा सबै मगर सँगै भेला भएर रमाइलो गर्दा आफूहरूको दुःख, पीर बिर्सने र मन खुसी हुने विश्वास छ । यस्तै मगर जातिले पृथ्वी अर्थात् भूमिलाई आफ्नो मुख्य देवताका रूपमा मानेर पुज्ने चलन छ ।

भूमिको पूजा भएपछि देवता खुसी हुने र त्यसपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनै पनि प्रलय नआउने र दुःखको नास भई पृथ्वीबासी सबैमा खुसी आउने जनविश्वास छ । भूमे नाच महिला पुरुषसँगै भएर लहरै नाचिन्छ । यस नाचमा वयस्क, वृद्धवृद्धाका साथै युवा पुस्ताको पनि उत्तिकै आकर्षण छ । उनीहरू पनि साथीहरूसँग रमाएर आफ्नो मौलिक पोसाकमा सजिएर बाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने गर्छन् ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार












प्रतिक्रिया