काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा मुख्य प्रतिपक्षी दलसँग सहमति भइसकेकाले अन्य राजनीतिक दलहरूसँग पुनः सहमति गर्नु आवश्यक नरहेको बताएका छन्।
शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले माओवादी केन्द्रसँग भएको सहमतिअनुसार छानबिन प्रक्रिया अघि बढ्ने स्पष्ट पारे। उनले सरकार सबै दलसँग छुट्टाछुट्टै सम्झौता गर्दै हिँड्न नसक्ने उल्लेख गर्दै, माओवादीसँगको समझदारीबाटै समस्या समाधान हुने विश्वास व्यक्त गरे।
“संसदीय प्रणालीमा मुख्य विपक्षी दलको भूमिका महत्वपूर्ण हुन्छ, र माओवादीसँग भएको सहमतिलाई आधार मानेरै संसद् सञ्चालनमा आएको हो,” बर्तौलाले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उठाएका विषयहरूप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले त्यसबारे आवश्यक प्रतिबद्धता पनि जनाइसकेको बताए। यस्तो अवस्थामा रास्वपाका सांसदहरूले नीलो रिबन बाँधेर र कालो पोशाकमा संसदमा प्रदर्शन गर्नु अनावश्यक स्टन्ड मात्र भएको उनको टिप्पणी थियो।
बर्तौलाले रास्वपाले संसदीय पद्धति स्वीकार गर्न नसकेको आरोप लगाउँदै भने, “यसरी अवरोध गर्ने शैलीले अन्ततः रास्वपालाई नै क्षति पुग्नेछ।”
उनको भनाइमा, संसद्मा जिम्मेवार र सकारात्मक भूमिका निर्वाह गर्नुको सट्टा रास्वपाले अलोकतान्त्रिक आचरण प्रदर्शन गरिरहेको छ।
प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार













प्रतिक्रिया