काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश समग्र रूपमा नयाँ युगमा प्रवेश गर्दै गरेको बताएका छन्। शुक्रबार ललितपुरको ग्वार्कोमा निर्मित ओभरपासको उद्घाटन गर्दै उनले अबको यात्राले देशको विकास र समृद्धिको दिशा थप प्रष्ट बनाउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले कृषि, उद्योग र पूर्वाधारको आधुनिकीकरणमार्फत नेपालले समृद्धितर्फ ठूला कदम चालेको उल्लेख गरे। “हामी अहिले कृषिको आधुनिकीकरणतर्फ ठोस र व्यापक रूपमा काम गरिरहेका छौं,” उनले भने, “धेरै नयाँ उद्योगहरू स्थापना भएका छन्। केही उद्योग पुराना भएर बन्द भएका छन् भने केही पुनः सञ्चालन गर्ने तयारीमा छौं।”
उनले कुनै पनि अवस्थामा निराश नहुन सबैलाई आग्रह गरे। “हामी गर्न सक्छौं भन्ने आत्मविश्वासका साथ अघि बढ्यौं भने सफलता सम्भव छ,” प्रधानमन्त्री ओलीले भने, “देशलाई दुर्गम अवस्थाबाट सुगम स्थितिमा पुर्याएका छौं। अब बहुआयामिक ढंगले चौतर्फी विकास हाम्रो लक्ष्य हो।”
उनले चक्रपथ विस्तारमार्फत राजधानीको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने योजना रहेको पनि बताए। “चक्रपथको बिस्तारले ट्राफिक समस्या हटाउन मद्दत पुर्याउनेछ,” प्रधानमन्त्रीको भनाइ थियो।
उनको अनुसार वर्तमान सरकार विकासको स्पष्ट खाका तयार गरेर योजनाबद्ध ढंगले अगाडि बढिरहेको छ। उनले देशभित्रै रोजगारी सिर्जना, उत्पादन वृद्धी, र आत्मनिर्भरताको बाटो तय गरिरहेको पनि बताए।
“देश विकासको नयाँ चरणमा छ,” प्रधानमन्त्री ओलीले भने, “हामी सबैले मिलेर यो यात्रालाई सफल बनाऔं।”
प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार













प्रतिक्रिया