काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले मुलुकको नेतृत्व अब रास्वपाले गर्ने दाबी गरेका छन्। पार्टीको स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंको माइतीघरमा आयोजित कार्यक्रममा बोल्दै उनले परम्परागत ठूला दलका नेताहरूलाई मार्गप्रशस्त गर्न आग्रह गर्दै अबको पुस्ताले देश हाँक्ने बताए।

“प्रत्येक युगमा युवाहरूले नेतृत्व लिएका छन्, अबको नेतृत्वको जिम्मेवारी हामीले लिन्छौँ,” परियारले भने, “तपाईंहरू बाटो छोड्नुस्, हामी विचारको नेतृत्व गर्न तयार छौं।”

advertisement

उनले रास्वपाको उद्देश्य सत्ता वा सुविधा होइन, मुलुकको समुन्नति भएको उल्लेख गर्दै भने, “देशलाई आजको अवस्थामा छाडेर हामी राजनीतिमा आएका होइनौं। यो देश सयौँ गुणा राम्रो बन्न सक्छ भन्ने विश्वासका साथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका हौं।”

देशमा प्रशस्त सम्भावना र स्रोतसाधन हुँदाहुँदै पनि नेपाल विकासको पथमा अघि नबढ्नुमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता परम्परागत दलहरूको विफलतालाई उनले जिम्मेवार ठहर गरे।

भिजिट भिसा प्रकरणमा आरम्भमा साथ दिएको माओवादी केन्द्र पछि हटे पनि रास्वपा जनताको पक्षमा अडिग रहने उनले स्पष्ट पारे।

“त्यो दल सुरुमा हाम्रो साथमा थियो, लाग्यो– अब नेपाली जनताको पक्षमा उभिन्छ होला। तर फेरि पनि इतिहासले दोहोरियो, उसले साथ छोड्यो,” परियारले भने, “हामी सानो संख्या हुन सक्छौं, तर यो मुद्दा रास्वपाको मात्र होइन, हरेक नेपालीको घरघरको आवाज हो। त्यसैले हामी कहिल्यै पछि हट्दैनौं।”

उनका अनुसार रास्वपाको यात्रा कठिन हुन सक्छ, तर सत्य, विचार र जनताको पक्षमा दृढ भएर अघि बढ्ने मार्गमा पार्टी अडिग रहनेछ।

प्रकाशित मिति: ७ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com