पोखरा । कास्की प्रहरीले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पुम्दीभुम्दी क्षेत्रबाट बुटवलतर्फ जाँदै गरेको एक माइक्रोबस जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत, पञ्जाब अमृतसरका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का ४७ वर्षीय रामबहादुर विक रहेका छन्। पक्राउ परेकाहरूको साथबाट ८२ तोला १६ लाल सुनका विभिन्न गरगहना बरामद भएको प्रहरीले जनाएको छ। ती गरगहनाको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ बराबर रहेको छ।
बरामद गरगहनामा सिक्री, औँठी, झुम्का, जुली, लकेट, मंगलसूत्र, पोतेलगायतका सामग्री छन्। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानअनुसार कुलदिप सिंह र रामबहादुर विकबीच तीन वर्षअघि फेसबुकमार्फत सम्पर्क स्थापित भएको थियो। भारतका विभिन्न राज्यहरूमा सुनका गहना बिक्री गर्दै आएका कुलदिपले नेपालमा पनि कारोबार विस्तार गर्ने योजना बनाएका थिए।
यही योजनाअनुसार उनले अमृतसरस्थित अमरजित साहुको सुन पसलबाट सुन ल्याई नेपालमा विक्री गर्ने तयारी गरेका थिए। कुलदिपसँगै पोखरा आएका रामबहादुरले गहना विक्री भएपछि केही रकम पाउने सर्तमा साथ दिएको स्वीकार गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
प्रकाशित मिति: ७ असार २०८२, शनिबार













प्रतिक्रिया