काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आत्मसमीक्षा गर्न सुझाव दिएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले रास्वपाले अन्य दलप्रति टिप्पणी गर्नु अघि आफ्नै अवस्थाको गहिरो मूल्यांकन गर्नुपर्ने बताएका हुन्। उनले रास्वपाको तेस्रो स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै भने,
“उहाँहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु। तर, कांग्रेस बिग्रियो, एमाले बिग्रियो भन्दै टिप्पणी गर्नु अगाडि आफूहरूलाई पनि हेरौँ। हामीलाई पार्टी बन्नै समय लाग्यो, बिग्रन पनि समय लाग्यो। तर, तपाईँहरू छिट्टै बनेर छिट्टै बिग्रँदै हुनुहुन्छ कि जस्तो देखिन्छ। त्यसमा गम्भीर समीक्षा गर्न आवश्यक छ।”
भट्टराईले संसद्को मर्यादा र जिम्मेवारीबारे पनि प्रश्न उठाए।
उनले सरकारविरुद्ध कालो लुगा लगाएर संसद्मा उपस्थिति जनाउनु, बोल्ने अनुमति नपाएको भनाइ तथा बजेटमाथिको छलफलमा भाग नलिएको जस्ता व्यवहारलाई संसदीय मर्यादाको उल्लंघन भन्दै आलोचना गरे।
“संसद् भन्ने ठाँउ प्रतिवाद गर्ने होइन, प्रतिपक्षको जिम्मेवारी निभाउने स्थान हो,” उनले भने।
सांसद भट्टराईले पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणबारे गम्भीर छानबिन र अध्ययन गर्न गृहमन्त्रीको ध्यान पनि आकर्षण गराएका छन्।
प्रकाशित मिति: ७ असार २०८२, शनिबार












प्रतिक्रिया