काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले गत चैत १५ गते तीनकुनेमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको आइतवारको बैठकमा मन्तव्य दिँदै सांसद राणाले उक्त घटना कुनै व्यक्तिको कारण नभई राज्यको गलत नीति र व्यवहारको परिणामस्वरूप भएको दाबी गरे। उनले तीनकुनेमा उत्पन्न परिस्थितिको मुख्य जिम्मेवार राज्य स्वयम् रहेको उल्लेख गर्दै यसको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसमेत राखे।
सांसद राणाले सो घटनासँग जोडिएर आलोचित बनेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा आवाज उठाउँदै प्रसाईँ जनताको हितका लागि काम गरिरहेको व्यक्ति भएको तर्क गरे। उनले भने, “प्रसाईँजस्ता व्यक्तिहरू जनताको सेवा र सुधारको पक्षमा छन्। उनीहरूलाई दोषारोपण गर्नु सरासर अन्याय हो।”
उनले थपे, “राज्यले आफ्ना नीतिबाट जनता भड्काएको छ, त्यसैले तीनकुनेमा भएको तनाव र अराजकताको जिम्मा पनि राज्यले लिनुपर्छ।”
सांसद राणाले घटना राजनीतिक पूर्वाग्रहले होइन, निष्पक्ष र वस्तुनिष्ठ ढंगले छानबिन हुनु आवश्यक रहेको समेत औंल्याए।
प्रकाशित मिति: ८ असार २०८२, आइतबार













प्रतिक्रिया