काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वर्गीय नेता गणेशमान सिंहको नाममा विनियोजित बजेटमार्फत अपमान गरेको आरोप लगाएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद ज्वालाले सहरी विकास मन्त्रालयले योजनाहरू आफ्नो निकटका व्यक्तिहरूका लागि मात्र केन्द्रित गरेको भन्दै आलोचना गरे।
“सहरी विकास मन्त्रालयले परिभाषाअनुसारको काम गरिरहेको छैन,” उनले भने, “आफ्ना रुचिका, आसेपासेका मान्छेहरूका लागि जुनसुकै शीर्षकमा योजना थुपारेर भरौटे र बिचौलियाहरूलाई पोस्ने भाँडो बनाइएको छ।”
सांसद ज्वालाले मन्त्री सिंहप्रति थप प्रश्न उठाउँदै भने, “माननीय मन्त्रीज्यू, तपाईं सिनियर नेता हो, तर के गर्नुभयो ? गणेशमान सिंहजस्तो राष्ट्रनेताको नाममा करिब ५७ करोड बजेट विनियोजन गरियो, त्यो पनि उत्पादनमूलक कार्यक्रम वा रोजगारी सिर्जना गर्ने कुनै योजना होइन, अनुत्पादक संरचना निर्माणको नाममा। तपाईंले गणेशमानलाई बदनाम गर्नुभयो। मंगलादेवीलाई समेत अपमान गर्नुभयो।”
त्यस्तै, उनले स्वर्गीय पुष्पलाल श्रेष्ठको नाममा ७० लाख विनियोजन गरेर मन्त्रालयले “काठमाडौंमा गाईजात्रा” गरेको टिप्पणीसमेत गरे ।
प्रकाशित मिति: ८ असार २०८२, आइतबार













प्रतिक्रिया