काठमाडौं। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे प्रतिनिधि सभाको बैठक सुरु हुनेछ। यस बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ।
विनियोजन विधेयक, २०८२ अन्तर्गत वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय मामिला, र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।
त्यसैगरी, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शीर्षकहरूमाथि पनि छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
राष्ट्रिय सभाको बैठक भने आज दिउँसो १:१५ बजे बस्नेछ। यस बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यक्रम छ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया